Nepal Times
Nepal Times
3
Shares

कोरोना अपडेटः अमेरिकाको सवै राज्यमा संक्रमण, अहिलेसम्म इटालीमा २५ सय बढीको मृत्यु

कोरोना अपडेटः अमेरिकाको सवै राज्यमा संक्रमण, अहिलेसम्म इटालीमा २५ सय बढीको मृत्यु

५ चैत, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने तीव्र रुपमा फैलिइरहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।

बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार भने निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । निको हुनेहरुमा चिनियाँ नै धेरै रहेका छन् ।

पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् । चीनमा निको हुनेको संख्या करिब ६८ हजार रहेको छ ।

यसैविच, युरोपेली मुलुक इटालीमा भने दिनप्रतिदिन संक्रमण फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

त्यस्तै इटालीमा संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ । त्यस्तै स्पेनमा मृतकको संख्या ५३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ ।

इरानमा ९८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा २७, अमेरिकामा २३, नेदरल्यान्ड्समा १९, बेलायतमा १६, जर्मनीमा ९, स्विजरल्यान्डमा ८, दक्षिण कोरियामा ६, क्यानडामा ४, मलेसिया, इजिप्ट, इन्डोनेसिया र सान मारिनोमा २–२ जना तथा अस्ट्रिया, स्विडेन, जापान, पाकिस्तान, पोल्यान्ड, इराक, भारत, लेबनान, टर्की, अल्जेरिया, मोरक्कको र युक्रेनमा एक–एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ८ सय ३ जनाको मृत्यु भएको छ भने थप १५ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ ।

अमेरिकाको सवै राज्यमा संक्रमण

वेस्ट भर्जि्निया राज्यले मंगलबार पहिलो संक्रमण पुष्टि गरेसँगै अमेरिकाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको छ । मंगलबार वेस्ट भर्जि्नियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए । बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या १०९ पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या ६ हजार ४ सय ६८ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.