२ मंसिर, काठमाडाैँ ।
पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता ‘कस्मेटिक सहभागिता’ मा मात्रै सिमिति हुने बताएका छन् । राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रीत भईरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागितालाई अर्थपुर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् ।
राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला सहभागिताका विषयमा संञ्चारिका समुहले विहिबार काठमाण्डौमा गरेको कार्यक्रममा उनले संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु कस्मेटिक सहभागिता मात्रै हुने टिप्पणी गरे । उनले सास्कृतिक रुपान्तरण नभएसम्म महिला सहभागीता सारभूत हुन नसक्ने बताए । उनले भने वातावरण निर्माण कसरी गर्ने ? यसका लागि पितृसत्तात्मक सोच बाधक छन् । महिलालाई आर्थिक रुपले आत्मनिर्भर र उत्पादकत्वमा नजोडिएसम्म कस्मेटिक सहभागीता रुपमा मात्रै कायम हुने छ । महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर सार्वभौम बनाउनु पर्छ । सहभागीताको विषय हेर्दा राजनीतिक देखिएपनि यो सांस्कृतिक विषयसग जोडिएको छ । सांस्कृतिक रुपान्तरण नभएसम्म महिला सहभागीता सारभूत हुन सक्तैन । नेकपा एमाले महिलाको सारभूत सहभागीतामा जोड दिन्छ । ”
महिलाहरु राजनीतिक निर्णायक तहमा आउने विषय चुनौतिपूर्ण
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीति मुल्य मान्यताबाट स्खलित हुदै गएकाले महिलाहरु राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतिपूर्ण बन्दै गएको बताए । महिला सहभागी गराउनकै लागि एउटै पदमा संख्या थप गर्ने अभ्यास पार्टीभित्र सुरु भएको उल्लेख गर्दै उनले संख्या थपेर महिला सहभागिता गराएको भन्न नमिल्ने तर्क गरे ।
उनले भने “ राजनीतिक मुल्य मान्यताबाट स्खलित. हुन लाग्यो । महिला सहभागीता र महिला निर्णायक तहमा आउने कुरा अझ चुनौति छ । क्रशर संञ्चाल गर्नेहरु राजनीतिमा आउन थाले । सेतो पेसा देखाउने तर कालो पेसा गर्नेहरु राजनीतिमा आउन थाले । मनि र मसल राजनीतिमा प्रयोग हुन थाल्यो । यो भनेको महिला माथिको थप चुनौति हो । ”
नेता पाण्डेले पदाधिकारी र अन्य निर्णयक तहमा महिला सहभागिता वृद्धिका लागि निरन्तर अभिमुखिकरण गर्नु आवश्यक रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आसन्न महाधिवेशले पदाधिकारीमा महासचिव र उपाध्यमा महिला निर्वाचित गर्ने दाबी गरे ।
नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले कानुनमा नै बाध्यकारी बनाएको व्यवस्था बाहेक पदाधिकारी र निर्णायक तहसम्मको सहभागिताका लागि सबैसंग छलफल, बहस,सहकार्य र समन्वय आवश्यक रहेको बताइन् । उनले भनिन् “हामीभित्र पनि पितृसतात्म सोच छ । महिलामा दासत्वको रुपबाट छ । पुरुषमा पुरुषत्तो (म भाले हुँ) भन्ने मनोविज्ञान छ । यसलाई हल गर्ने कुरामा पद्धती, प्रक्रिया र अध्भ्यास अनुसार सबैसंग छलफल, बहस, सहकार्य र समन्वय आवश्यक छ । सबै पार्टीहरुलाई झकझकाउन सक्नुपर्छ । ”
कार्यक्रममा राष्ट्रिय सुचना आयोगका पूर्व सदस्य यशोधा तिम्सिनाले कानुन अनुसार बाध्यकारी व्यवस्था बाहेक पदाधिकारी तहमा महिला सहभागिता बढाउने तर्फ दलका नेताहरुको ध्यानाकर्षण गराइन् । महिला नेतृत्व वृद्धिका लागि आवश्यक वातावरण निर्माण गर्ने तर्फ पनि राजनीतिक दलहरुले चासो देखाउनुपर्नेमा उनले जोड दिइन् ।