१४ जेठ, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । थप गरिएको निषेधाज्ञा प्रभावकारी बनाइने भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ ।
झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेको हो ।
प्रशासन स्रोतका अनुसार उक्त निषेधाज्ञाको अवधिमा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइने, अनुमतिबिना सवारीसाधन चलाउन नपाइने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ ।
हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई उल्लङ्घनको प्रकृतिअनुसार एक सयदेखि पाँच सय रुपियाँसम्म र सवारीसाधनलाई पाँच सयदेखि पाँच हजार रुपियाँ जरिवाना तिराइने छ ।
पसल खोल्नेहरुलाई भने पहिलो पटक चेतावनी दिएर बन्द गराउने र दोस्रो पटक पसल खोलेमा प्रहरी कार्यालयमा नै ल्याएर कारबाही गर्ने तयारी छ ।
यस्तै, उपत्यकाका तीन जिल्लाको जिल्ला प्रशासन कार्यालयले थप गरेको एक हप्ताको निषेधाज्ञामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।
नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको हो । प्रशासन कार्यालयले विपन्न, असहाय र गरिब परिवारका लागि अप्ठ्यारो परेमा स्थानीय वडा कार्यालयमा वा टेलिफोन नं. १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ