२५ भदौ, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार २२ जना खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो । यो सन् २०१९ को वर्षभरिको तलब हो ।
क्यानले यसअघि आईसीसीको मागअनुसार २२ खेलाडी र एक जना टेक्निकल एनालिस्टसहित २३ जनाको विवरण आईसीसीमा पठाएको थियो । त्यहीअनुसार सेप्टेम्बर १ मा आईसीसीले रकम निकासा गरेको थियो । पछिल्लो पटक नेपाली खेलाडीले २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट प्राप्त गरेका थिए ।
यसपटक तीन ग्रेडमा रहेका सबै खेलाडीहरुले १० हजार बढी तलब पाउनेछन् । क्यानले १० हजार बढाउन गरेको प्रस्ताव आईसीसीले स्वीकार गरेर तलब पठाएको हो । जसअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाउने छन् । अब ‘ए’ ग्रेडका खेलाडीले एक वर्षको एकमुष्ट ५ लाख ४० हजार पाएका छन् । यस्तै ‘बी’ ग्रेडका खेलाडीले ४ लाख २० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३ लाख पाएका छन् । यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले ‘सी’ ग्रेडका खेलाडीको बराबर तलब पाउनेछन् ।
ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् । यस्तै ग्रेड ‘बी’ अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी छन् । ग्रेड ‘सी’ मा भने इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान छन् ।