३ मंसिर, काठमाडौँ । कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई खुलामञ्चमा निःशुल्क खाना वितरण गरिँदै आएकोमा अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको छ । खुलामञ्चमा निःशुल्क खाना वितरण गरेकोप्रति काठमाडौं महानगरपालिकाले आपत्ति जनाएको थियो ।
बुधबारदेखि काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।
निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूसँग परामर्श गरेर अस्थायी रूपमा थापाथलीमा खाना वितरणको स्थान तोकिएको र आगामी दिनमा पार्टी प्यालेस वा अन्य थप व्यवस्थित ठाउँमा खाना वितरणको पहल भइरहेको काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना वितरण गरेकोप्रति आपत्ति जनाउँदै आएको थियो । तिहारपछि खुलामञ्चको सट्टा अर्को ठाउँमा खाना वितरण गर्ने सहमति महानगर र संस्थाहरूबीच भएको थियो ।