१७ असार, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो ।
अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । ‘भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैयाँ, डिजेल र मटितेलमा २–२ रुपैयाँ बढाउने निर्णय गरेका छौं ।’
नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुने उनले जानकारी दिए । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।
खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।
पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।
गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन गरेको थिएन ।