४ कात्तिक, धनगढी ।
गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
हत्याको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र वडा नम्बर ११ का गोपाल भन्ने रामगोपाल राना रहेका छन् । उनीहरु सबै स्थानीय तस्कर रहेको प्रहरीले जनाएको छ ।
गस्तीमा गएको प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्करहरुले योजनावद्ध रुपमा प्रहरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनले धारिलो हतियार प्रहार गरेर प्रहरीको हत्या गरी अपराध लुकाउन शव नदीमा फालेको बताए । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चेकपोष्टमा कार्यरत उनीहरुको शव मोहना नदीमा फेला परेको थियो ।
शनिबारदेखि बेपत्ता रहेका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको थियो । उनीसँगै बेपत्ता चौकी इन्चार्ज विकको हत्या गरि नदीभित्र फ्याँकिएको अवस्थामा आइतबार शव फेला परेको थियो ।