६ वैशाख, काठमाडौं ।
आज नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । तर माधव नेपाल समूह बैठकमा नजाने भएको छ । एमालेको ओली समूहले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
नेपाल समूहले ओलीले विधानविपरीतको काम गरिरहेको आरोप लगाउँदै आएको छ । सोही कारण उनले बोलाएको बैठकमा नेपाल समूह नजाने भएको हो ।
पछिल्ला दिनहरूमा एमाले विवाद उत्कर्षमा पुगेको छ । कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गर्दै ४ जना एमाले सांसदले फ्लोर क्रस गरेपछि विवाद थप चुलिकएको छ ।
कर्णालीमा फ्लोर क्रस भएपछि ओली समूह नेपाल समूहसँग थप चिढिएको छ । उता नेपाल पक्षले भने ओलीको यस्तै रवैया रहीरहे अरु प्रदेशमा पनि कर्णालीको घटना दोहोरिन सक्ने चेतावनी दिएको छ ।
नेपाल समूह भने ओलीले एकलौटी रूपमा पार्टी विधानविपरित काम गरिरहेको भन्दै निर्वाचन आयोग पुगेको छ । आइतबार नेपा समूह लिखित पत्रसहित आयोग पुगेको हो ।
नेपाल समूहका तर्फबाट बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न आग्रह गरेको छन् ।
सर्वोच्च अदालतको २३ फागुनको निर्णयपछि ओलीले एकपक्षीय ढंगले गरेका निर्णयहरू अभिलेखिकरण नगर्न नेपाल पक्षले आयोगसँग माग गरेको छ ।