विराटनगर,जेठ १७
अवैध ढंगले भिसा तस्करी गर्ने नेपालीलाई कतारको अदालतले एक वर्ष जेल र २० हजार रियाल ९६ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
कतार स्थित नेपाली दुतावासका अनुसार भिसाको अवैध तस्करी गरेको अभियोगमा तवरेज आलामलाई अदालतले सजाय तोकेको हो । उनी सँगै सोही कारोबारमा संलग्न अदालतले विभिन्न देशका ४० जना माथि मुद्दा दायर गरेको छ । आलाम आउँदो फेब्रुअरी १४ सम्म जेल बस्नुपर्ने समय तोकेको छ ।
पछिल्लो समय दललालहरु कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर ‘आजाद भिसा’ को नाममा नेपाली कामदारमाथि चरम शोषण गरिरहेका छन् । कतार सरकारले कामदारसँग भिसाको शुल्क लिने र कामदारलाई झुक्याएर ल्याउने कार्यलाई गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ ।
कतारको खोज अनुसन्धान तथा अनुमगन विभागले यस्ता दलालविरुद्ध कारबाही गर्न आफुहरुले कडाई गर्दै आएको जनाएको छ । विभागका अनुसार हालै मात्रै भिसा कारोबार गर्ने ४० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
विभागका प्रमुख ब्रिगेडर अब्दुल्ला जबेर अल लब्दाका अनुसार अवैध भिसाको व्यापार गर्नेविरुद्धको अनुसन्धान सफल हुँदै गएको छ । ‘आप्रवासी कामदारमाथि हुने शोषण र समस्या समाधानको लागि भिसा कारोबार गर्ने विरुद्ध कारबाही अगाडि बढाइएको हो,’ लब्दाको भनाइ छ ।