११ माघ, विराटनगर ।
मोरङको केराबारी गाउँपालिकामा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिकाका अध्यक्ष रोहित कार्कीका अनुसार केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको हो ।
विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।
त्यस्तै, गाउँपालिका कार्यालयनजिकै बम भेटिएको छ । कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा बम भेटिएको हो । उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको डीएएसपी थापाले जानकारी दिए । उनका अनुसार दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।
सडकमा बम राखिएको जानकारी पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । तर, सुरक्षाकर्मी समयमै नपुग्दा रातभर त्रास छाएको थियो ।