विराटनगर, चैत १
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउत र सरकारवीच भएको सम्झौतामा न्यायपालिकाको शंकास्पद भूमिका देखिएको आरोप लगाएका छन् ।
सरकारले न्यायपालिकालाई प्रभावमा पारेर देशमा फेरी गृहयुद्ध निम्ताउन खोजेको उनले आरोप लगाए । नेपाल टेलिकम वर्कस यूनियन प्रदेश नम्बर १ को १२ औ क्षेत्रीय अबिधेशनलाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै डाक्टर कोइरालाले यो सम्झौताले न्याय क्षेत्रको बिश्वसनियता माथि प्रश्न खडा गरेको बताए ।
उनले अदालतले छोडेको भोलिपल्टै आफ्नै पार्टीका साथीहरूलाई सुईको समेत नदिई कसरी सहमति हुन्छ भन्ने प्रश्न गर्दे यो घटनाले न्यायपालिका निष्पक्ष बन्न नसकेको आरोप लगाए । मधेशलाई बेग्लै देश बनाउँछु भन्दै हिडेका राउतसँग सम्झौता गर्ने र विप्लब माओवादीलाई प्रतिवन्ध लगाउने सरकारको रवैयाले देश फेरि गृहयुद्धको भूमरीमा फस्ने त होइन भी भन्दै प्रश्न गरे ।
कांग्रेसले पनि कुनै बेला प्रचण्ड, बाबुराम र बादललाई आतंककारी घोषणा गरेको स्मरण गर्दै उनले आतंककारी घोषणा गर्दै र प्रतिबन्ध लगाउँदैमा समस्याको निकास ननिस्कने बताए ।