३१ भाद्र, विराटनगर ।
नेपाली कांग्रेसको छाँया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समिति संयोजक डिला संग्रौलाले विदेशमा रहेका नेपालीलाई दसैंअगावै स्वदेश फर्काउने योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छन् ।
बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै संगौलाले नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई दसैंअगावै स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी हुन् । “महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ ।
तर, अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै तीन लाख नेपाली स्वदेश फर्कन पर्खिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “तीमध्ये हजारौं महिला, बेरोजगार तथा असक्त नेपाली विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा सुरु गरेको छैन, जुन खेदजनक छ ।”
नेतृ संग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै पटक(पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरेकी छन् ।
“त्यस्तै प्रतिनिधिसभामा हामीहरुले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका थियौँ भने पटकपटक यो विषयलाई जोडदार रुपमा उठाउँदै आएका थियौँ । तर, सत्तारुढ दलको आन्तरिक झगडाबीच संसद् बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मञ्च पनि बन्द गरिदिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
उनले मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रममन्त्री रामेश्वरराय यादव र पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टाछुट्टै फोन गरेर विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चाँडो नेपाल ल्याउन आग्रह गरेको पनि जनाएकी छन् । तीनै जना मन्त्रीहरुबाट विदेशमा अलपत्र परेका श्रमिकलाई नेपाल ल्याउनले विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको र सक्दो पहल गरिरहेको जानकारी पाएको पनि उल्लेख गरेकी छन् ।
नेतृ संग्रौलाले झन्डै ७ महिनादेखि बेखर्ची भएका नेपालीहरु घरबाट पैसा मगाएर तथा विभिन्न संघ–संस्थाको सहयोगमा गुजारा गरिरहेका देशवासीको स्थिति हरेक दिन जटिल बन्दै गएको भन्दै उनीहरुको सहजताका लागि सरकारले अवलम्बन गर्नुपर्ने कामहरु पनि स्मरण गराएकी छन् ।