विराटनगर, चैत १२
विश्व छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभातफेरीको आयोजना गरेको छ । विभिन्न नारा लेखिएका प्लेकार्ड, व्यानरसहितको प्रभातफेरीमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, वरिष्ठ न्यूरो सर्जन डाक्टर यमबहादुर रोक्का , वरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सर्मथ सिंहलगायत विभिन्न चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको सहभागीता थियो ।
प्रभातफेरीमा न्यूरो हेल्थ कलेजका विद्यार्थीले समेत सहभागिता जनाएका थिए । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी विराटनगर बजारको परिक्रमा गरि तुलशा मदर एण्ड चाइल्ड हस्पिटल हुँदै पुनःन्यूरो अस्पतालमा समापन भएको थियो । सो अवसरमा छारे रोगप्रति व्याप्त भ्रम तथा अन्धविश्वासविरुद्ध कलेजस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरियो भने छारे रोगबारे निःशुल्क परामर्श सेवासमेत दिइएको थियो ।
निबन्ध प्रतियोगितामा अरनिको आवसिय बिद्यालयकी अग्रिमा सापकोटा प्रथम , नेपाल बिजनेस कलेजकी इलिना थापा द्वितिय र नेपाल बिजनेस कलेजकै साहाजेब हक तृतीय भएका थिए । विजयीहरुलाई न्यूरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा विष्टले प्रथमलाई रु ५हजार ,द्वितियलाई ३ हजार र तृतीयलाई २ हजार नगदसहित सम्मान गरिएको थियो ।
यस्तै छारे रोग दिवसको अवसरमा विभिन्न परीक्षणमा २५ प्रतिशत छुट तथा एक महिनाको निःशुल्क औषधि प्रदान गरिएको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । त्यसअवसरमा ४९ जना छारे रोगका बिरामीले स्वास्थ्य लाभ लिएका थिए । छारे रोग नशा सम्बन्धी रोगको एक प्रकार हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिरामीहरु सही उपचार नपाएर गाउँघरमा अल्मलिने गरेको चिकित्सकहरुले बताएका छन । नेपालमा करिव १ लाख ५० हजार बढी छारे रोगका बिरामी रहेको तथ्यांक छ ।