विराटनगर,जेठ १९
सडक निर्माणको काममा लापर्वाही गर्ने एक ठेकेदार आफ्ना सहयोगीसहित विराटनगरमा पक्राउ परेका छन् ।
विराटनगरको जनआन्दोलन चोकछेउमा पक्की नाला बनाउने क्रममा गुणस्तरहीन काम गरेको भेटिएपछि टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित सुपरभाइजर विनय साह र अर्का एक जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको नेतृत्वमा गएको अनुगमन टोलीले सिमेन्ट नै नमिसाई बालुवाले मात्र ईट्टा जोडिरहेको फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
विकासको काममा चरम लापर्वाही भएको देखिएपछि शनिबार नै मेयर पराजुलीले त्यसमा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेका थिए । लगत्तै प्रहरीले पन्तसहित उनका सहयोगीलाई पक्राउ गरेको हो ।
सो क्षेत्रका ठेकेदार कृष्ण बोहोरा भएपनि उनी भने पक्राउ परेका छैनन् । महानगरले टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्धय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कार्वाहीको सिफारिस गरेको छ ।
पत्रको बोधार्थ व्यापारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी, सुनसरीलाई समेत दिईएको छ । व्यापरिक मार्ग विस्तार आयोजना अन्तर्गत महेन्द्र चोकदेखि बरगाछीको भागमा गुणस्तरहीन काम भएको र काममा ढिलाई भएका कारण कार्वाहीको सिफारिस गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।