२५ भदौ, काठमाडौं ।
सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ ।
दशै, तिहारजस्ता चाँड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयकै अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो ।
कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको बजार अनुगमनमा निस्केको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाव र सजन गोथ मिठाई पसलको अनुगमन ग¥यो ।
गुणस्तरीय खाद्य बस्तुको उत्पादन र विक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन सो अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौंधरीले जानकारी दिइन् ।
उनले अनुगमनको क्रममा तीन वटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर चेकजाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको पनि बताइन् ।
सरकारले सबै खाद्य बस्तु उत्पादन तथा विक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना पनि बनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताइनन् ।
उनले अनुगमनका क्रममा सफाईमा धेरै कमजोरी भेटिएको पनि बताइन । मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको पनि विभागले जनाएको छ ।
यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञा–पत्र लिएर मात्रै खाद्य बस्तुको विक्री वितरण गर्न पनि व्यापारीहरुलाई निर्देशन दिएको छ ।
विभागकी महानिर्देशक बैद्यले अनुज्ञा पत्र लिएर मात्रै खाद्य बस्तुको विक्री वितरण गर्न सम्बन्धित सबै निकायलाई सचेत गराइएको जानकारी दिएकी हुन् ।
सरकारले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनका लागि काठमाडौं उपत्यकामा मात्रै दैनिक ९ वटा टोली परिचालन गर्ने दावी गर्दै आएको छ ।