१२ असोज, सिरहा ।
सिरहाको लहानमा रहेको जे.एस.मुरारका बहुुमुखी क्याम्पसले पहिलो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । प्रदेश २ का दुईवटा क्याम्पसमध्ये जेएस मुरारका बहुुमुखी क्याम्पस लहान पनि पर्न सफल भएको क्याम्पस प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए ।
गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गरेको छ । प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै क्याम्पसको आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना बनाएको क्याम्पस प्रमुख पोखरेलले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयले अनुदान आयोगद्वारा प्रदान गरिएको प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पसले शनिबार शान्ति र्याली निकालेको छ । र्यालीले लहान बजार परिक्रमा गरेको थियो ।