इन्डोनेसियामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जोको विडोडो पुनः निर्वाचित भएको घोषणापछि राजधानी जकार्ता लगायतका शहरमा प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ भने २ सय जना घाइते भएका छन् । इन्डोनेसियामा मङ्लबार घोेषित मत परिणामअनुसार राष्ट्रपति जोको विडोडोले ५५ दशमलव ५ र उनका निकटतम प्रतिद्वन्द्वी विपक्षी दलका नेता पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४ दशमलव ५ प्रतिशत मत प्राप्त गरेका थिए । प्रबोवो सुविआन्तोका समर्थकहरुले राजधानी जकार्तामा आगजनी र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो । प्रहरीले २० जना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ । निर्वाचन आयोगले वर्तमान राष्ट्रपति विडोडोलाई राष्ट्रपति घोषणा गरे पनि प्राबोवोले निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न नमानेको बताइएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन जकार्तामा मात्रै ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित भएपछि विरोध प्रदर्शन, प्रदर्शनमा ६ को मृत्यु
८ जेष्ठ २०७६