२७ कार्तिक, एजेन्सी ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्ना वरिष्ठ सहयोगी रन क्लेनलाई ह्वाइट हाउस चिफ अफ स्टाफका रुपमा चयन गरेका छन् ।
उनको टिमलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेको खबरमा सन् १९८० को दशकदेखि सहयोगी रहँदै आएका क्लेनलाई बाइडेनले ह्वाइट हाउसमा आफ्नो चिफ अफ स्टाफका रुपमा नियुक्त गर्ने निर्णय गरेको उल्लेख छ ।
क्लेन सिनेटको जुडिसियरी कमिटिमा बाइडेनका सहयोगी रहँदै आएका थिए र उनी उप राष्ट्रपति भएपछि चिफ अफ स्टाफका रुपमा क्लेनले काम गरेका थिए । क्लेन बाराक ओबामा प्रशासनमा ह्वाइट हाउसका शीर्ष सल्लाहकार थिए ।
यस्तै उनले उपराष्ट्रपति अल गोरको चिफ अफ स्टाफका रुपमा समेत काम गरेका थिए । सन् २००० को चुनावबारे बनेको चलचित्र रिकाउन्टमा क्लेनको भूमिका अभिनेता केविन स्पाइसीले निर्वाह गरेका थिए ।
राष्ट्रपतिको दैनिक कार्यतालिकाको व्यवस्थापन गर्ने जिम्मेवारी हुने ह्वाइट हाउस चिफ अफ स्टाफलाई सामान्यतया ‘द्वारपाल’ रुपमा पनि परिभाषित गर्ने गरिन्छ । राजनीतिक नियुक्ति हुने यो पदका लागि सिनेटमा सुनुवाई गर्नु पर्दैन ।
बाइडेनको अन्तरिम टिमले जारी गरेको वक्तव्यमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले क्लेनको प्रशंसा गरेको उल्लेख छ । अहिलेको संक्रमणकालीन अवस्थामा आफूलाई चाहिने र सबै गुण युक्त व्यक्ति क्लेन रहेको बाइडेनले उल्लेख गरेका छन् ।
क्लेनले आफूमाथि गरिएको विश्वासले आभारी भएको उल्लेख गरेका छन् ।