Nepal Times
Nepal Times
3
Shares

कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन

कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन

२३ असाेज, काठमाडौं।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईको  निधन भएको छ । उनको ९९ वर्षकाे उमेरमा काठमाडौंँको ओम अस्पतालमा आज अपराह्न १ः३० बजे  निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

१९७८ को माघ १५ मा जन्मिएका उनी स्वर्गीय कृष्णप्रसाद भट्टराई सभापति हुँदा विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका थिए । त्यसअघि २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए ।

प्रसाईं पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित भएका थिए । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै उनी निर्वासनबाट स्वदेश फर्किएका हुन् ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा स्वतन्त्र उम्मेद्वार बने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनी पराजित भए ।

पछिल्लो समय भने उनले नेपाली कांग्रेस परित्या गरेका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेको भन्दै उनले पार्टी छोडेका थिए । प्रसाईंकी पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् ।

पूर्वकोषाध्यक्ष प्रसाईंको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रसाईंले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.