१३ कात्तिक, काठमाडौं ।
र्याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न पत्र लेखेको छ ।
‘पारा’ बोलको र्याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ ।
भिटेनको पारा बोलको गीत बिहीबारसम्म युट्युबको ट्रेन्डिङ नम्बर १ मा थियो । हाल उनले उक्त गीत प्राइभेटमा राखेका छन् । गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन् ।
भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेकाे थियाे । उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।