आईजीपी थापाद्वारा सुडान मिसनमा खटिने प्रहरी टाेलीको बिदाइ

१४ कात्तिक ७७, शुक्रबार

१४ कात्तिक, काठमाडौं ।
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गरे।

Advertisement

बिदाइ समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे। प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका समूहका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक वधाइ तथा शुभकामना दिए । परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपियु छनौट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास उनले व्यक्त गरे ।

Advertisement

संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, एउटा मुलुक पनि हो भन्ने कुरा तपाईंको आत्मामा रहनु पर्दछ ।’ मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले युएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न खटि जाने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

Advertisement

समारोहमा मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालले त्यसतर्फ खटि जाने समूहमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिए। उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूह गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने उनले जानकारी दिए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top