दुःखीलाई दुःखीले दिएको १५५ रुपैयाँ

२७ कात्तिक ७७, बिहीबार
Share this
763shares

२७ कात्तिक, काठमाडाैँ ।

Advertisement

सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै थिइन् । “मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न”, भीडमा उनले अनुग्रहसहित बोलिन् । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह अस्वीकार गरे झैँ मुन्टो बटारे । कतिपयले कति आउँछन् यस्ता मगन्ते भनेर खासखुस गरे । उनले आफ्नो कथाव्यथा सुनाउन छाडिनन् ।

उनको खाली हातमा उही सेतै पहिरनकी महिलाले केही रुपैयाँ थमाउँदै भनिन्, “दिदी हजुर १ (पैसा दिँदै) लिनुस्, यसले छोरीको उपचारमा केही सहयोग हुन्छ होला ।” पैसा दिनेको मुहार उनले झुलुक्क हेरिन् । माग्ने महिला छक्क परिन् । डोको, नाम्लो बोकेर आएकी आफू जस्तै मजदुरको सहयोग लिन अन्कनाइन् । झट्ट पैसा लिनसकिनन् । बरु अकमकाउँदै भनिन्, “हजुरको आफ्नै त्यस्तो बिजोक छ, मैले कसरी लिनु ।”

Advertisement

“हैन लिनुपर्छ मेरो दयाधर्मले दिएको छ, लिनुस्”, सेतो पहिरनकी महिलाले जिद्धि कसिन् । “हस्, तपाईँ जस्तो मान्छेले सहयोग गर्नुभयो, मूरीमूरी धन्यवाद”, पैसा स्वीकार्दै महिलाले भनिन् । अघि सहयोग नदिने र हेरेर बस्ने सबै छक्क परे । भक्तपुर दधिकोटकी ४६ वर्षीय शारदा श्रेष्ठ जो एकल महिला सेतो पहिरन मै छिन् । सागपात बेचेर जिविका चलाउँछिन् । उनले आफूजस्तै अर्की महिला दोलखाकी पम्फा थापालाई बिहान साग बेचेर आएको पैसा रु १५५ सहयोग गर्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता यात्रीको झल्को यही देखियो ।

कुन मन्दिरमा जान्छौं यात्री, कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो
हाडहरुको सुन्दर खम्बा, मांशपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रीयहरुको द्वार
नसा नदीका तरल तरङ्ग, मन्दिर आफू अपार।।।

Advertisement

इश्वरको धर्म र सेवा गर्न मन्दिर जानु पर्दैन । मानिस आफैँ मन्दिर र इश्वरको स्वरुप हो । दिनदुखीका सेवा गरे कुनै धर्म र पूजा गरिरहनु पर्दैन भन्ने सन्देश बोकेको यो कविताको जस्तै मर्म ति महिलाको मनले देखाइदियो ।

“दिनदुखीलाई सहयोग गर्न धनाढ्य नै हुनुपदर्छ भन्ने छैन्, मन भए जसरी पनि सहयोग गर्न सकिन्छ, यो त्यसैको एउटा उदाहरण हो”, सबै गतिविधि हेरिरहेका सामाजिक अभियानकर्मी उमेश बोहराले भने ।

दोलखााकी पम्फा थापा काठमाडौँका सडकमा दैनिक भारी बोक्छिन् । काम पाउँदा थाप्लोमा र नपाउँदा हातमा नाम्लो टुट्दैन । बन्दाबन्दीपछि भारी बोक्न नपाउँदा कोठा भाडा तिर्न धौंधौं छ । अझै ६ महिनाको भाडा तिर्न बाँकी छ । त्यसमाथि उहाँलाई मुटुमा प्वाल भएकी तीन वर्षकी छोरी करिना थापाको दैनिक औषधोपचारमामा रकम जोहो गर्नुपर्ने अर्को बाध्यता छ ।

थापालाई एक वर्षपछि हुने छोरीको शल्यक्रियाका लागि पैसाको जोहो पर्नुपर्ने बाध्यता छ । मान्छे भेट्यो की कागजपत्र झोलामा बोकेर सहयोगको भीख पनि माग्दै हिड्छिन् । बेलाबेलामा भक्कानिन्छिन् ।

त्यही आफ्ना कथा र वेथा पत्रकारसँग पोख्दै पनि हुनुहुन्थ्यो पम्फा । समाचार हेरेर सहयोगी हात फैलिन्छन् भन्ने झिनो आशा उनमा थियो । एकल महिला शारदा श्रेष्ठको पनि सागपात बिक्री नभए घरमा चुलो बल्दैन । एउटा भनाइ छ, ‘हुने खानेले हुँदा खानेलाई सहयोग गर्नुपर्छ’ । तर, त्यसको विपरित थियो त्यो दृष्य । दुखिलाई दुखिको सहारा प्रमाणित भइरहेको थियो ।

फराकिलो मनकी धनी शारदाले उनलाई मात्रै पैसा दिइनन् नजिकै रहेका अन्य मजदुरका छोराछोरीलाई पनि साग बेचेर आएको पैसाको केही अंश काटेर दिइन् । उनका अनुसार दैनिक मजदुरी गरेर कमाएको पैसामध्ये काटेर नियमित सहयोग गर्छिन् ।

उनको आफ्नै व्यथा छ । दुखजिलो गरेर कमाएको पैसाले श्रीमान विष्णुभक्तलाई बचाउने ठुलो कोसिस खेर गयो । मुटुको बिरामी श्रीमान्लाई शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र बाँसबारीमा लामो समय बचाउने प्रयास गरिन् । विसं २०७२ देखिको प्रयास २०७७ मा असफल बन्यो । उनी भन्छन्, “श्रीमान् गइगए, एउटा छोरीको बिहे भयो, अब मेरो कोही सहारा छैन, यही दुःख गरेर खाएको छु ।”

साग व्यापार उनको दैनिकी हो । भक्तपुरको थिमीबाट साग ल्याएर काठमाडौँका बजारमा बिक्री गर्छन् । अरुको साग बेचेवापत आउने कमिसन लिएर दैनिकी गुजार्छन् । “रु १० रुपैयाँ कमाएँ भने रु ८ साहुलाई दिन्छु, दुई रुपैयाँ आफू लिन्छु”, उनले भपिन् ।

उनले यसरी जीवन गुजारेको २५ वर्ष भयो । जति नै कमाए पनि मरेर लाने के नै हो र भन्ने शारदा हृदयको धनी छिन् । अर्काको दुःख देख्न सक्नुहुन्छ । बाटोमा त्यस्तै बालबालिका वा कोही समस्यामा परेका मान्छे देखे आफूसँग भएको केही पैसा वा खानेकुरा दिन्छिन् ।

उनी कहिल्यै मागेर खाँदिनन् । सडकमा सबै मजदुरलाई भात खुवाएको सधैँ देख्छिन् । सक्दो सहयोग गर्छिन्, तर कहिल्यै त्यहाँको भात खाँदिनन् । आफूले खाए गरीब दुखिले नपाउलान् भन्ने चिन्ता हुन्छ उनलाई । “अरुका लागि हृदयले देउदेउ भन्छ म दिन्छु”, शारदाले भन्छिन् । बालबालिका दिनदुखी फेला पर्ने वित्तिकै सहयोगको हात बढ्छ ।

गङ्गालला अस्पतालमा उपचार गराउँदागराउँदै श्रीमानको मृत्यु बेहोरेकी शारदाले पम्फाकी तीन वर्षीय छोरीको ज्यान जोगियोस् भन्ने स्वच्छ भावनाले सहयोग गरेको बताइन् । रु १५५ रुपियाँ ठूलो रकम होइन तर एक दुखीले अर्को दुखीको घाउमा मल्हम लगाउन खोज्नुले ठूलो अर्थ लाग्ने एक जना मजदुर कृष्ण नेपाली सुनाउँछिन् ।

पम्फाकी छोरी करिना मुटुमा प्वाल बोकेर हिँडेको तीन वर्ष भयो । जन्मेको एक महिनामा नै मुटुमा प्वाल परेको थियो । नियमित औषधी दिने गरिएको छ । चिकित्सकले दिएको मितिभित्रै खर्चको जोहो गर्नु उनलाई धौधौ छ । त्यसैले माग्नुको विकल्प छैन । उनी याचना गर्छिन्, “सहयोग गर्नुहोस्, मेरो आषिश नलागे पनि छोरीको पक्कै लाग्छ ।”

उनको भित्रि कथा झन पिडादायी छ । लाउँलाउँ र खाउँखाउँको उमेरमा श्रीमान्ले छाडेर गए । बच्चा पाल्ने अभिभारा उहाँको काँधमा आयो । पहिले उनी माडे (माडवारी) को घरमा काम गर्थिन् । पछि भारी बोक्नुपर्ने बाध्यता आइलाग्यो । सडकमै भौतारिएर हिँड्नुहुन्छ तर कोरोनाका कारण भारी बोक्ने काम पाउन मुस्किल भएको उनले सुनाइन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top