स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गर्दै पर्व मनाउन देउवाको आग्रह

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीले नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

तिहारको पाँचौँ दिन आज भाइटीका तथा नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उनले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी रहेको उल्लेख गरेका छन् ।

तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरूबीच तथा आफन्तहरूबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सभापति देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

Advertisement

यसैगरी वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ भन्दै सभापति देउबाले शुभकामना सन्देशमा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको उल्लेख गरेका छन् ।

नेपाल संवतको नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शङ्खधर साख्वाको योगदानलाई सम्झाउने बताउँदै सभापति देउवाले यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको उल्लेख गरेका छन् । शङ्खधर साख्वालाई उनको उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको हो ।

Advertisement

सभापति देउवाले अन्धकार विनाश गर्ने उज्यालोको पर्व तिहार र आफ्नै धरतीबाट उठेको नेपाल संवतको नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल संवतको नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top