स्याबास सपना ! बेवारिसे शव जलाएर जो बनिन् विश्वकै प्रेरणादायी

१० मंसिर ७७, बुधबार

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा पहिलो पटक पुग्दा निकै अत्तालिएकी थिइन् उनी। बाहिर मान्छेको भीडजस्तै त्यहाँ शवको थुप्रो थियो। कति बीभत्स ! कति भयानक ! कसैको टाउको थिएन, कसैको खुट्टा त कसैको आँखा। तर, त्यसको एक वर्षपछि भने उनलाई शवहरूसँग डर लाग्न छाडेको छ।

Advertisement

उनी हुन्, १९ वर्षीया सपना रोका मगर। उनी हरेक दिन पशुपति आर्यघाटमा बेवारिस शव जलाउँछिन्। यो काम उनले कुनै चर्चाका लागि गरेकी होइनन्। तर, यही कर्मले उनलाई संसारमै चिनाइदिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा सपना पनि परेकी छन्।

यो बेला सपना म्याग्दीस्थित घर पुगेकी छन्। काठमाडौंबाट एक जना पत्रकारले झिसमिसेमै फोन गरी यो खबर उनलाई सुनाए। तब उनी निःशब्द भइन्।

Advertisement

‘निरन्तर आँसु मात्रै आयो। केही भन्नै सकिनँ। हामीले गरेको काम देख्ने कोही त रैछ जस्तो लाग्यो’, सपनाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फेसबुक खोलेर हेरें जताततै मेरै समाचार थियो। अत्यन्तै खुसी लाग्यो। म्यासेज, फोन र बधाई त थामिनसक्नु पाइरहेकी रहेछु। नेपालका अग्रज, वरिष्ठ व्यक्तिहरूले पनि मेरो कामलाई बधाई दिँदै हौसला पठाउनु भएको रैछ।’

उनले यो जिम्मवारी र सफलताले अरू कर्म गर्न थप प्रेरणा मिलेको बताइन्। ‘हाम्रो यो कर्मले नेपाललाई नै चिनाउन सफल भयो भन्ने लागेको छ। बुवाआमा सँगै हुनुहुन्छ। तिमी हाम्रो मात्रै छोरी हैन नेपालकी छोरी बन्यौ भनेर खुसी बन्नु भएको छ’, उनले भनिन्।

Advertisement

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध भएर उनले मानवीय कर्म गरिरहेकी छन्। केन्द्रले हालसम्म तीन सयभन्दा बढी बेवारिसे लास जलाइसकेको छ। आफन्त पहिचान नभएका शवका बारेमा प्रहरी, सरकारी कार्यालय तथा अस्पतालले उनीहरूलाई खबर गर्छन्।

‘बेवारिस मानिसलाई राज्यले हेर्नुपर्ने हो। तर, हाम्रो सरकारले उनीहरूका लागि केही गरेको छैन। मजस्तो राम्रो परिवार र पढ्न सक्ने मानिस त कुनै समय सडकमा पुगेकी थिएँ। सडक सबैको साझा हो’, उनले भनिन्, ‘विभिन्न कारणले भोलि जो पनि सडकमा पुग्न सक्छन्। सडकमा पुग्ने नागरिक नै हैनन् त ? बेवारिसे हो भन्दैमा उनीहरूले इज्जतसाथ जल्न पनि नपाउने ? बाटोघाटोमा कुहिएर मर्नुपर्ने स्थिति कसैको नहोस् भनेर यो कर्ममा लागेकी हुँ।’

महिलाले दिएको दागबत्तीले आफूलाई चिनाएको उनको बुझाइ छ। ‘हुन त छोरी मान्छेले दागबत्ती दिन हुँदैन भन्ने समाज हो हाम्रो। मलामी जान हुन्न भनेर अझै पनि रोकिन्छ’, उनले भनिन्, ‘आज छोरी मान्छेले दिएको दागबत्तीले मलाई चिनायो। यति पवित्र काम छोरीले गर्न किन नहुने भनेर देखाउन पनि केही गर्न जरुरी थियो।’

विनयजंग बस्नेतसँगको भेटले यो कर्म गर्न हौसला दिएको उनको भनाइ छ। सपनाले बस्नेतलाई कर्मका बुवा मानेकी छन्। बस्नेतले ६ वर्षदेखि बेवारिसे शव जलाउँदै आएका छन्। सपनाले करिब एक वर्ष अवधिमा एक सयभन्दा बढी शव जलाएकी छन्।, याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top