विराटनगर,जेठ ७ ः इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई खेल्न अबसर नदिई बेञ्चमा राख्यो ।
दिल्ली प्लेअफमा पुग्ने सम्भावना गुज्रिएपछि मात्र सन्दिपलाई खेल्ने मौका दिईयो । जब सन्दीपले मौका पाए, उनले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए ।
अन्तिम तीन खेल खेलेका सन्दिपले आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै टिमलाई जित मात्र दिलाएनन् , मुम्बई इन्डियन्सको अघिल्लो चरण प्रवेशको यात्रामा पूर्णविराम लगाउन महत्वपूर्ण भूमिका खेले ।
सन्दिपको उत्कृष्ट प्रदर्शनसँगै दिल्ली डेयरडेभिल्समाथि सन्दीपलाई खेलाउन किन ढिला गरियो भन्ने प्रश्न उठेको छ ।
प्रशिक्षक रिकी पोन्टिङले अरु विदेशी अनुभवी खेलाडी टिममा भएकोले सन्दिप अटाउन नसकेको बताए । उनले स्पष्टीकरण दिँदै भने, ‘सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो ।’
सन्दीपको बलिङको विषयमा चर्चा गर्दै पोन्टिङले भने, ‘हामीले विगत ८÷९ हप्तादेखि उनलाई नियालिरहेका छौं । उनी हरेक दिन बिहानदेखि बेलुकासम्म नथाकिकन बलिङ अभ्यास गरिरहन्थे र उनको अनुहारमा मुस्कान कहिल्यै पनि टुट्दैनथ्यो । यस्ता युवा खेलाडीहरु देख्दा असाध्यै खुशी लाग्छ ।’
उनले आगामी त्रिकेट यात्राको शुभकामना दिँदै भने, ‘आईपीएलमा उदाएका केही प्रतिभावान युवा खेलाडीमा सन्दीप पनि पर्छन् । हामी उनको लामो र सफल आईपीएल करिअरको आशा गरिरहेका छौं ।’