१८ मंसिर, काठमाडाैँ ।
कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने भएको छ ।
कोरोना महामारीको असरका कारण किस्ता तिर्न नसकेका ऋणीको पनि बैंकहरुले धितो लिलाली गरिदिएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले ६ महिना भन्दा बढी समय ब्याज भुक्तानी बक्यौता नराखेका ऋणीको धितो लिलामी नगर्न भनेको हो ।
यसलाई नीतिगत व्यवस्थाकै रुपमा परिभाषित गरेर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइने राष्ट्र बैंकले जनाएको छ । बैंकले धितो लिलामी गर्न लागेको गुनासो गर्दै केही व्यवसायीहरुले राष्ट्र बैंकको सहयोग मागेका थिए ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको महामारी रहेसम्म व्यवसायीको लागि लचिलो बन्ने बताए । ब्याजदरलाई नियन्त्रण गरिने, सहुलियत ब्याजदर लागू गरिने, पुनर्कर्जालाई प्रभावकारी बनाउने लगायतका आश्वासन पनि उनले दिएका छन्।