स्थायी कमिटीले विवेकपूर्ण निकास दिने अध्यक्ष ओलीको विश्वास

२१ मंसिर ७७, सोमबार

काठमाडौँ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्ध आएको प्रस्ताव सम्बन्धमा स्थायी कमिटीले विवेकपूर्ण निकास दिने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी स्थायी कमिटीको आइतबारदेखि शुरु भएको बैठकमा लिखितपत्र पठाउँदै अध्यक्ष ओलीले गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको प्रस्तावले पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथा पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको जनाउनुभएको छ ।

Advertisement

“पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानूनसमेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरुसमेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ ”, अध्यक्ष ओलीको पत्रमा भनिएको छ, “एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।”

बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त पत्र वाचन गर्नुभएको थियो । अध्यक्ष ओलीले आफूलाई आरोप लगाइएको पत्रका बारेमा हुने छलफलमा सहभागी हुन आफू असमर्थ रहेको तर परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा सक्रिय सहभागिता रहने स्पष्ट गर्नुभएको छ ।

Advertisement

अध्यक्ष ओलीले महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नुपर्नेमा जोड दिनुभएको छ ।

ओलीको पत्रमा भनिएको छ, “मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्र्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।”

Advertisement

अध्यक्ष ओलीले आफूलाई स्थायी कमिटीका सदस्यको सामूहिक विवेकमाथि विश्वास रहेको जनाउँदै गतः भदौ २६ गते उक्त कमिटीले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराएको पनि स्मरण गर्नुभएको छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top