काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा व्यहोरेको पराजयलाई गम्भीर रूपमा समीक्षा गर्दै संगठन पुनर्निर्माण, जनतासँगको सम्बन्ध सुधार र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले निर्वाचन परिणामलाई पार्टीका लागि कठोर सन्देशका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।
उनले पार्टी पराजित भए पनि समाप्त नभएको भन्दै कमजोरी पहिचान गरेर संगठनलाई पुनर्जागरणतर्फ लैजानुपर्ने बताएका छन्। ओलीले निर्वाचन पराजयको कारण बाह्य घेराबन्दी र राजनीतिक प्रतिद्वन्द्वितामात्र नभई पार्टीभित्रका कमजोरी पनि रहेको स्वीकार गरेका छन्। संगठनका कतिपय तह निष्क्रिय हुनु, जनतासँग प्रत्यक्ष संवाद कमजोर हुनु, युवाको बदलिँदो मनोविज्ञान बुझ्न ढिला हुनु र डिजिटल सञ्चारमा पार्टीको प्रतिक्रिया कमजोर हुनुजस्ता कारण उनले औंल्याएका छन्।उनका अनुसार पार्टीले सरकारमा रहँदा गरेका कामलाई प्रभावकारी रूपमा जनतासम्म पुर्याउन सकेन। काम हुनु र जनताले त्यसको अनुभूति गर्नु फरक विषय भएको उल्लेख गर्दै ओलीले आगामी दिनमा जनसम्पर्क र राजनीतिक सञ्चार प्रणालीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिवेदनमा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ। मृतकका परिवारलाई न्याय, घाइतेलाई उपचार तथा घटनामा सुरक्षा निकाय, प्रशासनिक निर्णय, राजनीतिक नेतृत्व र बल प्रयोगको भूमिकासमेत अध्ययन गर्नुपर्ने ओलीको धारणा छ।ओलीले छानबिनलाई सत्य खोज्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने, राजनीतिक प्रतिशोध वा राजनीतिक सफायाको औजार बनाउन नहुने बताएका छन्। एमाले प्रतिपक्षमा रहे पनि सरकारका हरेक कामको विरोध गर्नु नभई सरकारलाई संविधानको सीमाभित्र राख्नु आफ्नो भूमिका हुने उनले उल्लेख गरेका छन्।





