स्वास्थ्य मन्त्रालयले भन्यो : ‘अहिले नै स्कुल नखोल्नू’

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘अहिले नै स्कुल नखोल्नू’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ।

प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन। घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ’, प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ। अभिभावकमा समेत संक्रमणको जोखिम बढाउँछ।’

गौतमले कोरोना संक्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने बताए। ‘सरकारले कोरोना संक्रमणको जोखिम बुझेर नै विद्यालय बन्द गरेको हो। जुन यथावत् नै छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘विद्यार्थी भर्ना गर्न मिल्छ। तर, कक्षा सञ्चालन गर्न मिल्दैन।’

शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन्। पठनपाठनसमेत सुरु भइसकेको छ। स्वास्थ्यका प्रवक्ता गौतमले कोरोना संक्रमण कायमै रहेको बेला विद्यालयमा पठनपाठन सुरु गर्ने बेला भइनसकेको बताए। ‘अहिले संक्रमण कम भएको मात्र हो। संक्रमणको जोखिम यथावत् नै छ। पठनपाठन सुरु गर्दा बालबालिकाहरू संक्रमण भए त्यसको जिम्मेवारी कसले लिन्छ ?’, डा. गौतमले भने।, याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.