छाउगोठ भत्काइएपछि ओढार र चौरमा बास

२६ मंसिर ७७, शुक्रबार
Share this
701shares

२६ मंसिर, बझाङ ।

Advertisement

गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन ।

स्थानीय उजली बोहोराले भन्नुभयो, “छाउगोठमा बसे गाउँपालिकाले भत्काउँछ घरपरिवारले देवता रिसाउँछन् भनेर घरभित्र बस्न दिँदैनन् म छाउ भएका बेला कहिले ओढार त कहिले खाली आकाशमा रात बिताउने गर्छु ।” यो साइपाल गाउँपालिकाको मात्रै पीडा हैन बझाङका अधिकांश ग्रामीण भेगमा महिलाले यस्तो समस्या भोग्दै आएका छन् । साइपाल गाउँपालिकाका महिला महिनावारी भएका बेला खुला आकाश तथा ओढारमा पाल हालेर बस्न बाध्य छन् ।

Advertisement

गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान शुरु गरेपनि महिलालाई झनै समस्या थपिँदै गएको स्थानीय महिला बताउँछन् । ‘‘समृद्ध गाउँपालिका बनाउनका लागि छाउगोठ भत्काएर मात्रै हुँदैन, मानिसमा चेतना नहुँदासम्म छाउपडी प्रथा उन्मूलन हुन सक्दैन’’, स्थानीयवासी तिलक विकले भने । गाउँपालिकाका अध्यक्ष राजेन्द्र धाँमीले छाउपडी प्रथामा केही सुधार आउँछ कि भनेर छाउगोठ भत्काइएको र केही ठाउँमा सुधार पनि भएको बताए ।

साइपाल गाउँपालिकामा बसोबास गर्ने दुई समुदायमा छाउ मान्ने र नमान्ने भएका छन् । साइपाल गाउँपालिकाको धुलीमा रहेका लामा, तामाङ समुदाय महिनावारी भएका बेला घरभित्र बस्ने र अन्य जातिले छाउगोठ, ओढार, खुला आकाशमुनि बस्ने गरेका छन् । साइपाल गाउँपालिका धुलिकी पूजा तामाङले भने, “अन्य समुदायमा छाउपडी प्रथा नमाने देवता रिसाउने भनेर भन्छन् । देवताको बाटो छुवाछूत गर्नु हुन्न भन्छन् । हामी पनि साइपालमै बस्छौँ महिनावारी भएका बेला घरभित्रै बस्छौँ, दही, दूध, मही, घिउ खान्छौँ त्यस्तो केही हुँदैन ।’’

Advertisement

यस्तै सोही ठाउँकी डोल्मा तामाङले भनिन, “हामी छाउ भएका बेला खाना आफैं पकाउँछौँ, सँगै बस्छौँ, खाना सँगै खान्छौँ, पूजा मात्रै गर्दैनौँ त्यो समयमा हामीलाइलाई केही हुँदैन ।” साइपालको लाफडीमा तामाङ समुदायको ३५ घर छन् । यहाँका कसैले पनि छाउ प्रथा मान्दैनन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top