२९ मंसिर, एजेन्सी ।
अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।
चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार निधन भएको हो । कोभिड–१९ बाट संक्रमित भएपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
त्यसपछि उनलाई छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका लागि लगिएको थियो । उनको त्यहिँ निधन भएको हो । उपप्रधानमन्त्री थिम्बा मासुकुले वक्तव्य जारी गरेर प्रधानमन्त्री ड्लामिनीको निधन भएको पुष्टि गरेका हुन् ।
प्रधानमन्त्री ड्लामिनीलाई उपचारका लागि डिसेम्बर १ मा दक्षिण अफ्रिकाको अस्पताल लगिएको थियो । उनी सन् २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
अफ्रिकाको दक्षिण क्षेत्रमा रहेको झण्डै १२ लाख जनसंख्या युक्त देश एजवाटिनीमा अहिलेसम्म ६ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ र १२७ जनाको कोभिडठ–१९ का कारण निधन भएको छ ।
