कर्मचारीको दस्तखत किर्ते गरी रकम हिनामिना

२८ मंसिर ७७, सोमबार

२९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा लेखा अधिकृत दर्जीसहित नायब सुब्बा मनोजकुमार निरौला र लेखापाल बलराम सापकोटाविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत दर्जीले ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ राजस्व संकलन भएकोमा २ करोड ५८ लाख ३ हजार २३१ रुपैयाँ मात्र बैँक दाखिला गरी बाँकी ४ करोड ५० लाख १३ हजार ८०६ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ । दर्जीले सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरी दाखिला गरिएका बैक भौचर आफैंले सच्याएर रकम हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ । यसैगरी लेखापाल सापकोटाले मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकममध्ये ५८ लाख ४३ हजार ८०६ रुपैयाँ ७५ पैसा सम्बन्धित बैंक खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । यसैगरी नायब सुब्बा निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये ४ लाख ७१ हजार ६१८ रुपैयाँ लेखा शाखामा नबुझाई भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

मालपोत कार्यालय भरतपुरले आर्थिक वर्ष २०७३/०७४ तथा २०७४/०७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान थालेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top