७ पुस, काठमाडौं ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ ।
केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।
एक नेताको दाबीअनुसार त दाहाललाई कारबाहीको निर्णय यसअघि नै भइसकेको छ । बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।
रायमाझी र थापा सोमबारसम्म कतै खुलेका थिएनन् । तर, बालुवाटारको भेलामा उपस्थित भएर आफ्नो कित्ता स्पष्ट गरेका छन् । यसअघि पूर्व माओवादी निकट मानिएका लेखराज भट्ट ओली समूहमा खुलिसकेका थिए ।
भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी छैनन् । त्यस्तै अहिलेसम्म कुनै पक्षमा नदेखिएका अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मंगलबार दाहाल–नेपाल समूहले बोलाएको बैठकमा जाने भएका छन् ।
ओलीले सोमबार बालुवाटारमा नै आफूनिकट सांसदहरुको बैठक गरेका थिए । दाहाल–नेपाल समूहले पनि नयाँ बानेश्वरको संसद् भवनमा आफूनिकट सांसदको बैठक गरेका थिए ।
यो समूहले पनि दिउँसो १ बजे बबरमहलमा केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।
सरकारले संसद् विघटन गरेपछि नेकपा पनि विभाजन हुन लागेको छ । दुवै पक्षका केन्द्रीय कमिटीको बैठक र निर्णयपछि नेकपा औपचारिक रुपमा विभाजन हुने देखिएको छ ।