१६ पुस, एजेन्सी ।
सिरियाको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेहरु सैनिक रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गरि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको सरकारी सञ्चारमाध्यमले बुधबार डेइर अल–जोउर प्रान्तमा बसमाथि आक्रमण भएको र ज्याउन गुमाउने ‘सर्वसाधारण नागरिक’ रहेको उल्लेख गरेको छ ।
तर अरु स्रोत र अनुगमन समूहहरुले भने सैनिक सवार बसमा एम्बुस आक्रमण भएको र ज्यान गुमाउनेहरु सैनिक रहेको उल्लेख गरेका छन् । सो आक्रमणमा मृत्यु हुनेको संख्या अधिक हुन सक्ने उनीहरुको भनाई छ ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । तर बेलायतमा आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले आक्रमणमा बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) को संलग्नता रहेको र ३७ सैनिकको ज्यान गएको बताएको छ ।
सत्ता समर्थक सैनिक तथा लडाकु सवार गाडीलाई लक्षित गरि आइएसले आक्रमण गरेको एसओएचआरले जनाएको छ ।










