सुस्त गतिमा भ्युटावर निर्माण

१६ पुस ७७, शुक्रबार

काठमाडौँ : काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ निर्माण चिप्लेकीराको गतिमा निर्माण भइरहेको छ । निर्माण सुरु भएकोे पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म टावर निर्माणको १५ प्रतिशत मात्रै काम भएको छ ।

Advertisement

महानगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौतामा २०७८ असारभित्र उक्त टावरको निर्माण सम्पन्न गरी व्यावसायिक प्रयोजनमा आइसक्नुपर्ने उल्लेख गरिए पनि अहिलेसम्मको निर्माणको अवस्थाले सो समयावधिमा कार्य सम्पन्न हुनसक्ने अवस्था देखिएको छैन । अहिलेसम्म सो टावर निर्माणको बेसमेन्टको काम सम्पन्न भई थप निर्माणकार्य अगाडि बढेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता किशोरमान डङ्गोलले महानगर र निर्माण कम्पनीबीच भएको सम्झौताबमोजिम ‘काठमाडौँ भ्युटावर’ को काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पहिलेभन्दा अहिले कामलाई केही गति दिए पनि निर्माणकार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन । कार्यतालिकाअनुसार अहिलेसम्म जति काम हुनुपथ्र्यो त्यति हुन सकेको छैन ।”

Advertisement

टावर निर्माणको जिम्मा जलेश्वर, स्वच्छन्द र बिकोई (जेभी)ले पाएका छन् । २०७१ फागुन २२ गते सम्झौता भए पनि निर्माण कम्पनीले २०७३ साउन ३० गतेदेखि मात्र काम सुरु गरेको हो । झण्डै दुई वर्ष काम ढिलो सुरु गरे पनि निर्माण कम्पनीले बीचबीचमा काम छोड्दै आएको छ । महानगरले सो टावर निर्माणका लागि गत वर्ष चैतमा एक वर्षका लागि समयसमेत थप गरिसकेको छ ।

सम्झौताअनुसार २०७८ असारभित्र निर्माण सम्पन्न भई व्यावसायिक रूपमा प्रयोगमा आइसक्नुपर्नेमा अहिलेको निर्माण गतिले सो सम्भव नदेखिएको स्पष्ट पार्दै महानगर प्रवक्ता डङ्गोलले भन्नुभयो, “अहिलेसम्मको निर्माण जगभन्दा अलिकति माथि मात्रै उठ्न सकेको छ, अहिलेसम्मकोे हिसाबले निर्धारित समयमा टावरको १२ तलाको निर्माण सम्भव देखिँदैन् ।”

Advertisement

सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न गर्न अहिलेसम्म सो टावरको आठ तलासम्मको काम सम्पन्न भइसक्नुपर्ने हो । सम्झौतानुसार निर्माण कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् भने त्यसपछि काठमाडौँ महानगरलाई हस्तान्तरण गर्नेछन् ।

सम्झौताअनुसार अहिलेसम्म टावरको ७५ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा अहिले जमिनमुनि ९बेसमेन्ट०को काम सम्पन्न गरी जमिनमाथि खम्बा राख्ने काम सुरु भएको हो । अहिले निर्माणस्थलमा सयभन्दा बढी जनशक्ति दैनिक काम गरिरहेका छन् । उक्त टावर निर्माणको कुल लागत चार अर्ब ७० करोड रुपियाँ अनुमान गरिएको छ । जम्मा २९ तलाको टावर निर्माण गर्ने लक्ष्य राखिएकोमा अहिले १२ तला मात्रै निर्माण हुने भएको छ । २०७२ सालको भूकम्पपछि सरकारले लागू गरेको मापदण्डले सहरी क्षेत्रमा निर्माण हुने टावर १२ तलाभन्दा माथि बनाउन रोक लगाएको छ । काठमाडौँ महानगरपालिकाले टावरको १२ तला मात्रैको नक्सा पारित भएको छ ।

कुल २३ रोपनी पाँच आना क्षेत्रफलमा निर्माण भइरहेको सो टावरको सबैभन्दा तल्लो तलामा बस पार्क र दोस्रो तलामा हलुका गाडी पार्किङस्थल निर्माण गरिने छ । तीमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ रहने र भने बाँकी भाग अन्य प्रयोजनमा ल्याइने छ । तेस्रो तलादेखि माथिको भाग अन्य व्यापारिक प्रयोजनका लागि उपयोग गरिने छ । उपराष्ट्रपति नन्दबहादुर पुनले २०७२ साल कातिक २५ गते उक्त टावरको शिलान्यास गर्नुभएको थियो ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top