खप्तड घुम्न हेलिकोप्टर प्याकेज

२० पुस ७७, मंगलबार

२१ पुस, डोटी ।
सुदूर पश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ।

डोटीको पूर्वी चौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घर वासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो।

सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घर वासका सञ्चालक दीपक बहादुर खड्काले जानकारी दिए।

Advertisement

यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गम स्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहज रूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताए।

उनले भने, कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हेलिकोप्टरको प्याकेज गरेका छौँ, उक्त प्याकेजले पर्यटकलाई निकै सहज हुनेछ।

Advertisement

घर वासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट ३० हजार, डोटीको दिपायलबाट १० हजार र झिङ्ग्रानाबाट आठ हजार रुपैयाँमा खप्तड घुम्न पाइने भएको छ।

कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन्। सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले जानकारी दिए।

समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्गकिलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ। जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले यहाँको शोभा झनै बढाउने स्थानीयवासी बताउँछन्।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top