हुलाकी पुल निर्माणमा भारतीय पक्षको अवरोधपछि काम ठप्प

२३ पौष, राजविराज । सप्तरीको खडक खोलाको पुल निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयामा निर्माण थालिएको खड्क खोलाको पुलमा भारतीय सीमा सुरक्षा बदल (एसएसबी)ले अवरोध पुर्याएको हो ।

Advertisement

हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग यो पुल निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौता भएपछि कन्स्ट्रक्सनले प्राविधिक कर्मचारी, कामदार र उपकरण ल्याएर काम शुरु गर्न खोज्दा एसएसबीले अवरोध पुर्याएका हुन् ।

हुलाकी आयोजनाका साइट इन्जिनियर आशुतोष कर्णका अनुसार ११२ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल बनाउने तयारी छ । पुल निर्माणका लागि रु १८ करोड ३३ लाख (भ्याटसहित) मा ठेक्का लागेको छ । पुल बनाउने भनेर पारी भारतीय गाउँ करियौर र नेपालतर्फका कटैयाका बासिन्दाका बीचमा छलफल हुँदा पुल बनाउने सहमति दिइएको बताउँदै कर्णले त्यही अनुसार नेपाल सरकारले ठेक्का लगाएको बताए ।

Advertisement

तर, सीमा नजिकै पुल बनिरहेकाले भारतीय पक्षले दुबै देशको सहमतिमा बन्नुपर्ने अडान लिएको उनले बताए । कर्णले भने, ‘यसबारेमा भौतिक पूर्वाधार मन्त्रालयमा जानकारी गराउन लागेका छौं ।’

नेपाली भूमीमा नेपाली पक्षले बनाउन लागेको पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध पुर्याउँदा काम ठप्प भएको छ ।

Advertisement

‘म आफैं पनि गएर एसएसबी र त्यहाँका डिएमसँग यसबारे कुरा गरेको छु,’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भन्छन्, ‘हामीतिरकै भूमी रहेको नक्सा समेत देखाएको छु । तर, भारतीय पक्ष माथिल्लो तहबाट टोली बोलाउने भनिरहेका छन् ।’

पारी भारतीय गाउँ करियौर गाउँका बासिन्दाले पनि पुल निर्माण हुन लागेको जग्गा नेपालकै भएको बताइरहँदा पनि उताका डिएमले यो विषयमा निर्णय लिन नसकेको आचार्यले बताए । ‘मेरो क्षेत्राधिकार डिएमसम्म कुरा गर्ने हो,’ प्रजिअ आचार्यले भने, ‘बाँकी गतिविधीबारे गृहमन्त्रालयलाई जानकारी गराइसकेको छु ।’

आचार्यले यो समस्याको समाधान परराष्ट्र मन्त्रालय मार्फत् हुने बताए । उनले दुई देशबीच छलफल भएर पुल निर्माणको काम चाँडै अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top