२ माघ, विराटनगर ।
नेपालकै पहिलो पूर्वाधार बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण सेयर निष्कासन गरेको छ ।
इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्ब रपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्र प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।
बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । यस बैंकको शेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।
सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ । यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।
नेपालमा डिम्याट खाता खोल्ने सबैले आवेदन दिएको अवस्थामा पनि यसको शेयर पर्ने निश्चित छ । यस बैंकको साधारण शेयर धेरै संख्यामा आवेदन पर्नेमा कीर्तिमान राख्न सक्ने सम्भावना समेत छ ।
भर्खरै खुलेको चन्द्रागिरि हिल्सको आइपीओ १३ लाख हाराहारीले भरेका छन् । नेपालमा खुलेका सबै डिम्याट खाता होल्डरले आवेदन दिएमा कम्तिमा ३० कित्ता पर्ने निश्चित छ ।
तर, सबै डिम्याट होल्डरले भर्ने निश्चित नभएका कारण र भर्नेमध्ये कतिपयले १० कित्ता मात्र समेत भर्न सक्ने सम्भावना रहेका कारण बैंक खातामा रकम छ भने ५० कित्ता वा सो भन्दा माथि आवेदन दिनु उपयुक्त देखिन्छ ।
