गुल्मीमा आपराधिक क्रियाकलाप बढ्दै, शान्ति सुरक्षामा चुनौती

१७ माघ ७७, आइतबार

१८ माघ, गुल्मी ।
गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ।

Advertisement

झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन्। घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो।

इस्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको गत भदौ २१ गते आफ्नै पसलमा विभत्स हत्या भयो। हत्या भएको करिब पाँच महिना पुग्न थाल्यो। गुल्मी प्रहरीले अहिलेसम्म अपराधमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन।

Advertisement

लामो समयसम्म हत्या किन र कसले गरेको भन्ने विषय अन्योल भएका कारण स्थानीयवासीमा त्रास बढ्दै गएको छ। मृतकका केही आफन्त र अन्य महिलामाथि पनि प्रहरीले शङ्का गरेको थियो, स्थानीय वीरबहादुर खत्रीले भने, अहिलेसम्म पनि हत्यारा पत्ता नलाग्दा स्थानीयवासीमा त्रास बढ्दै गएको छ।

रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक यही माघ ३ गते बिहान ११ बजे जङ्गलमा घाँस काट्न गएका थिए। सोही दिन दिउँसो २ बजेर ३० मिनेट जादाँ गुल्मीदरबार गाउँपालिका–१ को बलिथुममा मृत भेटिए।

Advertisement

उनका छातीमा बन्दुकका छर्रा रहेका बताइएको छ। दिउँसै बन्दुकले हानेर विकको हत्या भएपछि स्थानीयवासीमा त्रास बढेको छ। गाउँमा मजदुरी गरेर परिवार पालेका विकको हत्यापछि परिवार शोकमा छन्। हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन्।

त्यस्तै गत पुस २६ गते चार युवाले जिल्ला सदरमुकाममै रहेको महेन्द्र माविको कक्षा १२ मा पढ्ने इस्मा गाउँपालिका–३ का माधव पछाईँलाई मरणासन्न हुने गरेर कुटपिट गरे। पीडित परिवारले प्रहरीमा चार जनाविरुद्ध किटानी जाहेरी दिएका दिए। तीमध्येका दुई हिरासतमा छन् भने बाँकी दुई अझै फरार छन्।

तम्घासकै मुख्य बजारमा झारफुकको नाममा तातो पन्यू र अन्य धातुले हानेर इस्मा–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको गत पुस २९ गते ज्यान गयो भने दुई गम्भीर घाइते भए। बिपन्न मुखिया परिवार शोकमा डुबेका छन्। दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग उनीहरुको छ।

रोग सञ्चो गराउने नाममा बुवालाई गुमाउनुपर्‍यो, मृतकका जेठा छोरा हुमबहादुर मुखियाले भने, घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्‍यो।

यस्तै जिल्लामा हत्याका घटना मात्र होइन्, किसानमाथि पनि आक्रमण भइरहेको छ। चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्राफार्ममा अपरिचित व्यक्तिले गत पुस २३ गते आगो लगाइदिए। छिनभरमै फार्ममा रहेका २५ बाख्रा मरे।

फार्मको संरचनासहित ७० लाखभन्दा बढीको क्षति भयो। मालिका गाउँपालिका–७ घमिरका मुमानन्द लम्सालको केरा बगानमा गत पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फडानी गरे। त्यसका साथै पाइप र सिँचाइका सामग्रीमा क्षति गरे। तर दुवै घटनामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन्।

गुल्मीदरबार गाउँपालिका–४ का ३८ वर्षीय नारायण पाध्य शर्मा चुदालीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत मङ्सिर ८ गते मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भयो।

उनले गत कात्तिक २६ गते स्थानीय १७ वर्षीया बालिकालाई भारत लगेका थिए। आरोपितविरुद्ध जिल्ला अदालतले मङ्सिर १० गते पक्राउ पूर्जीसमेत जारी गर्‍यो। तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले सबै घटनाका बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए। कतिपय घटनास्थल टाढा भएकाले जिल्लाको टिम जान नपाएको उनले बताए।

साथै स्थानीयवासीबाट राम्रो साथ र समन्वय नहुँदा पनि समस्या भएको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा भएका घटनाप्रति आफूहरु गम्भीर रहेको बताए।

प्रशासन नजिकै घटेका घटनाले आफूहरुको चित्त दुखेको जनाउँदै उनले घटनाका विषयमा सुरक्षा समितिमा समीक्षा भएको बताए।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top