विराटनगर,जेठ २४
विराटनगर महानगरपालिकाको वडा नम्बर १ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय श्री राधाकृष्ण धर्मशालामा बुधबार आयोजित कार्यक्रमकाबीच सो वडा लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा उपस्थित सरोकारवालाकाबीच विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले वडा नम्बर १ लाई खुल्ला दिसमाुक्त क्षेत्र घोषणा गरे ।
उनले सो वडाको सम्पुर्ण २ हजार ४ सय ४१ घरधुरीमा शतप्रतिशत चर्पी निर्माण भएको जानकारी दिए । नगरस्तरीय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति र विराटनगर महानगरपालिकाले समेत गरेको अनुगमनको क्रममा सम्पुर्ण घरधुरीले चर्पी प्रयोग गरिरहेको पाईएपछि वडा नम्बर १ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको उनले बताए।
विराटनगर महानगरपालिका विराटनगरका खुल्ला दिसामुक्त वडाहरुमध्ये १३ औं नम्बरमा वडानम्बर १ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यसअघि नगरक्षेत्रका वडानम्बर २,३,५,७,९ र १० सहित वडानम्बर ११,१३,१५,१६ र १७ नम्बर वडागरि जम्मा १२ वटा वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।
नगरक्षेत्रका जम्मा १९ वटा वडामध्ये अब वडानम्बर ४,८,१२,१४,१८ र १९ नम्बर वडा खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन बांकी छन् । नगरक्षेत्रका खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन बांकी ६ वटा वडाका सम्पुर्ण घरधुरीमध्ये ३२६ वटा चर्पी निर्माण कार्य मात्र बांकी रहेको जनाईएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दीरा कार्की,वडा नम्बर १ का वडाध्यक्ष उद्धव अर्याल लगायतले शुभकामना ब्यक्त गरे ।