भूकम्पपछि पुनःनिर्मित सिंहदरबार सोमबार उद्घाटन हुँदै

२ फागुन, काठमाडौं ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ । पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर सोमबार उद्घाटनको तयारी भएको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सर्न लागेको हो । करीब छ वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि विसं २०७२ वैशाख १२ गतेपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो । प्रबलीकरण भइरहेका बेला उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्य अगावै काम सकेकोे एकाइले जनाएको छ । पूर्वी भाग प्रबलीकरणको उद्घाटनसँगै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे सिंहदरबार मूल भवनको आँगनबाट नै जानकारी गराउनुहुने कार्यक्रम रहेको एकाइ प्रमुख सिंहले जानकारी दिए ।

Advertisement

सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ । गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरेको हो । उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणको लागत रु ८७ करोड रहेको पनि आयोजना निर्देशक सिंहले सुनाए । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ । सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ । सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनःनिर्माणको काम समेत शुरु भइसकेको छ ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।

Advertisement

भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रबलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । जसले गर्दा प्रबलीकरणमा समय लागेको हो ।

पुनःनिर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी संरचनालाई भूकम्पीय जोखिम धान्न सक्ने गरी निर्माण गरिएको तर भवनको अत्यन्तै सुन्दर भाग पश्चिमी मोहडा भने पुरानै स्वरुपमा रही आएको एकाइका उपआयोजना निर्देशक झप्परसिंह विश्वकर्माले बताए । यसमा पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग भएकाले संरक्षण हुँदै आएको थियो ।

सिंहदरबारको इतिहास

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० (इ.सं १९०३) मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ । यसको निर्माण शुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा एक हजार ७०० वटा कोठा थिए ।

सिंहदरबार निर्माणकालमा एशियाभरिको सबैभन्दा ठूलो दरबार थियो । निर्माणमा त्यस बेला रु पच्चीस लाख खर्च भएको तथ्याङ्क छ । विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको हो । विसं २००७ पछि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयसहित सबै मन्त्रालय राखिएको थियो ।

विसं २०३० मा यहाँ ठूलो आगलागी भएपछि पछाडिपट्टिको धेरैजसो भाग नष्ट भयो । सिंहदरबारमा आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्त सारियो । हाल सिंहदरबार पुनःनिर्माण समितिमार्फत् परिसरमा थुप्रै नयाँ भवन बनेका छन् । प्रायः सबैजसो मन्त्रालय फेरि सिंहदरबार परिसरमै स्थापित भइसकेको छ ।

युरोपेली शैलीमा वास्तुकारद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गरेका हुन्। चन्द्र शम्शेर शिकार तथा कलाका सौखिन भएकाले सिंहदरबारका भित्ता शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाले सजाइएको थियो । सिंहदरबारका लागि बत्ती तथा अन्य शुङ्गारका वस्तु युरोपबाट मगाइएको हो ।

भूकम्पअघि रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको कार्यालय पनि यही भवनमा थियो । वेसमेन्टसहित पाँच तले सिंहदरबारको मूल भवनबाटै प्रमुख प्रशासनिक स्थलको नामाकरण भएको छ ।

प्रबलीकरणमा प्रविधि

उत्तर, दक्षिण र पुर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेन्ट, बालुवा, छड, बोण्डिङ केमिकल प्रयोग गरी पुरानैस्वरुप नबिग्रने गरी प्रबलीकरण गरिएको छ । प्रबलीकरण गर्दा आरसिसी, एङ्करिङ, स्ट्रक्चरल स्टील तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको आयोजना उपप्रमुख विश्वकर्माले बताए ।

पबलीकरण प्रविधिमा दुवै भागमा कङ्क्रिट ज्याकेटिङ, केमिकल बोण्डिङ एजेण्ट (एपोक्सी) प्रयोग गरी एङ्करिङ तथा स्ट्रक्चरल स्टील प्रयोग गरी बलियो बनाइएकोे छ । उत्तर, दक्षिण तथा पूर्वी मुख्य भागलाई सुरक्षित गरे पश्चात् भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन यान्त्रिक, विद्युतीय प्लम्बिङ, सूचना प्रविधि र सुरक्षाको व्यवस्थासमेत गरिएको एकाइले जनाएको छ ।

सिसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् । साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ ।पूर्णप्रसाद मिश्र/रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top