७ चैत, काठमाडौँ । कसुर प्रमाणित नभईकन ४० वर्ष भन्दा बढीदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले आज (शनिबार) खुला आकाश देख्दै छन् । पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त हुँदै छन् ।
दुर्गाप्रसादविरुद्ध सन् १९८० मा दार्जिलिङ पुलिसमा हत्या आरोपको जाहेरी परेको थियो । दार्जिलिङका नैन घलेले आफ्नी श्रीमतीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए । जेल पर्दा २० वर्षका दुर्गाप्रसाद अहिले ६१ वर्षका भएका छन् ।
३९ वर्षसम्म उनीविरुद्धको मुद्दामा सुनुवाइ नै भएन, कसुर प्रमाणित नभईकनै दुर्गाप्रसादले जीवनका महत्वपूर्ण समय भारतीय जेलमा बिताउनुप¥यो । सुरुमा दार्जिलिङ, त्यसपछि अलिपुर हुँदै पछिल्लो १४ वर्षदेखि उनलाई कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ राखिएको थियो । कारागारमा उनलाई दीपक जैसीका नामले राखिएको छ । उनलाई घरमा बोलाउने नाम दीपक थियो ।
मरे–बाँचेको पत्तो नभएका दुर्गाप्रसाद कोलकातास्थित कारागारमा रहेको जानकारी परिवारले केही महिनाअघि मात्रै पाएको थियो । गत १० फागुनमा भाइ ९काकाको छोरा० प्रकाशचन्द्र तिम्सिनाले उनलाई कारागारमै गएर भेटेका थिए । उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी। राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार दुर्गाप्रसादलाई छाड्ने आदेश दिएका थिए । तर, केही कागजी प्रक्रिया बाँकी थिए ।
यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।