विराटनगर जेठ ३१
विराटनगरको सिमावर्ती बजार जोगबनीमा एक सामाजिक कार्यकर्तामाथि गोली प्रहार भएको छ । आपराधिक समूहले जोगबनी नगरपञ्चायत वडा नम्बर ९ का ३८ बर्षिय सामाजिक कार्यकर्ता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो ।
आज बिहान ११ बजे ३ जनाको समूहमा आएका अज्ञात समुहले रेल्वे स्टेशन नजिकै पटेलमाथि गोली प्रहार गरेका थिए । लागूऔषध विरुद्ध जोगबनी क्षेत्रमा आन्दोलन चलाउदै आएका पटेलमाथि चार गोली प्रहार गरिएकोमा तीन गोली उनको शरिर छेडेर निस्किएको छ भने एक गोली जिउमै रहेको हिन्दुस्तान टाईम्सका स्थानीय पत्रकार वरुण मिश्राले जानकारी दिए ।
घाईते पटेललाई उपचारकालागि विराटनगर ल्याइएकोमा विराटनगरमा उपचार हुननसकेपछि उनलाई धरान रेफर गरिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको गम्भीर अवस्थामा उपचार भईरहेको जनाईएको छ ।
सिमाक्षेत्रमा हुने लागुऔषधको कारोबार रोक्न उनले स्थानिय नगरपञ्चायत र जोगबनी बजारमा पटकपटक धर्ना प्रदर्शन गर्दै आएका थिए । जसका कारण उनको लागू औषधका कारोबारीसंग दुस्मनी भएको र सोहि कारणले उनलाई गोली प्रहार गरिएको आशंका गरिएको छ ।