२६ चैत्र, एजेन्सी ।
लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन्।
राजदूत क्यए वार मिनले आफूलाई कार्यालय प्रवेशमा रोक लगाएने म्यानमारको सैनिक सत्ताका सहयोगीहरुले कर्मचारीहरुलाई पनि दूतावास छोड्न भनेको बताएका छन् ।
सैनिक सत्ताका प्रतिनिधिले आफूलाई ‘तिमी देशको प्रतिनिधि रहेनौ’ भनेको राजदूत मिनले बताएका छन् । उनले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘मलाई कार्यलय प्रवेश गर्न दिइएन, बाहिरै राखियो ।’
म्यानमारको सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसयता म्यानमारमा प्रदर्शन हुँदै आएको छ र सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् ।
सैन्य कू को विरोध गर्दै राजदूत मिनले नियन्त्रणमा लिइएकी नेतृ आङ साङ सूकीसहितको रिहाइको माग गरेका थिए ।
प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनको क्रममा म्यानमारमा पाँच सय भन्दा धेरै मानिसको ज्यान गएको छ र त्यसमा दर्जनौँ बालबालिका पनि छन् ।
राजदूत मिनलाई बुधबार लण्डनस्थित दूतावासमा प्रवेश गर्न नदिइएको हो । उनले सो घटनालाई ‘मध्य लण्डनमा भएको म्यानमार सत्ताको कू’ का रुपमा हेरेको समाचार संस्था रोयटर्सलाई बताएका छन् ।
उनले यस्तो खालको कू हुन नदिने पनि बताएका छन् ।