२९ चैत, काठमाडौ । कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ ।
विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० कोे सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा कमी आएको हो । सन् २०२० को जनवरीसम्म कोभिड विश्व महामारीका रूपमा फैलिएको थिएन ।
२०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ । सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको जनाइएको छ।
पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसिया तथा एसिया प्रशान्तीय क्षेत्रमा ९६ प्रतिशतले घटेको छ ।
पर्यटक घुमफिरका दृष्टिले विश्वको पहिलो सूचीमा पर्ने यो क्षेत्रका मुलुकको पर्यटनमा कोभिडले बढी असर गरेको तथ्यांकले देखाउँछ ।
नेपाल पनि यसै क्षेत्रभित्र पर्ने मुलुक हो । युरोप तथा अफ्रिकी क्षेत्रमा ८५, मध्य एसियामा ८४ र अमेरिकी क्षेत्रमा ७७ प्रतिशत कमी आएको देखिएको छ ।
कोभिडको दोस्रो लहर सुरु भएसँगै विभिन्न मुलुकले लगाएको यात्रा प्रतिबन्धसँगै पर्यटक आवागमन घटेको संगठनले जनाएको छ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार कोभिडको दोस्रो लहरबाट सबैभन्दा बढी अमेरिका र युरोपसँगै केही हदसम्म दक्षिणपूर्वी एसिया प्रभावित बनेका छन्।
कोभिडका कारण सन् २०२० मा करिब ७५ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटनमा कमी आएको थियो। उक्त अवधिमा विश्व उड्डयन क्षेत्रले ३ सय ७० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति व्यहोरेको थियो।
विमानस्थलले १ सय १५ अर्ब डलर र हवाई कम्पनीहरूले १३ अर्ब डलरबराबरको क्षति व्यहोरेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले जनाएको छ।