अविश्वासको प्रस्तावबारे छलफल गर्न सांसदहरू लेकसाइड रिसोर्टमा

१४ वैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरूद्धको अविश्वासको प्रस्तावमाथि सोमबारदेखि प्रदेश सभाको विशेष अधिवेशनमा छलफल चलिरहेको छ।

Advertisement

अविश्वासको प्रस्ताव ल्याउने तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरू सोमबारदेखि नै लेकसाइडको रिसोर्टमा बसेका छन्।

कांग्रेस र माओवादीका सांसदहरू लेकसाइडको कुटी रिसोर्टमा बसेको एक सांसदले जानकारी दिए।

Advertisement

जनता समाजवादी पार्टीका २ जना सांसद भने लेकसाइडकै अर्को रिसोर्टमा बसेका छन्।

अविश्वास प्रस्तावमाथिको छलफल र मतदानसम्म अरू गतिविधि हुन नदिन एकै ठाउँमा बस्ने व्यवस्था मिलाएको नेताहरूले बताएका छन्।

Advertisement

अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्तावित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बैठक बसेर छलफल गर्न एकै ठाउँमा बस्नुपरेको बताए।

‘विभिन्न सवाल आउँछ, सरसल्लाह गर्नुप¥यो नि’, नेपालीले सेतोपाटीलाई भने, ‘साथीहरू बाहिरबाट आउनुपर्ने भएकाले पनि एकै ठाउँमा बस्नुपरेको हो।’

आफू भने उक्त रिसोर्टमा बास नबसेको नेपालीले दाबी गरे।

कांग्रेस सांसद सँगसँगै बसेको माओवादी केन्द्रले पनि छलफलकै लागि एकै ठाउँमा बस्नुपरेको बताएको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले घर टाढा रहेका सांसदलाई बस्ने व्यवस्था मिलाएको बताए।

‘अविश्वासको प्रस्ताव राख्ने पक्षहरू एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने हुन्छ’, उनले भने, ‘पटक पटक भेटघाट गरिराख्नुप¥यो, घर टाढा भएकाले साथीहरू बास बस्नुप¥यो।’

अविश्वास प्रस्तावमा मतदान गरेपछि यसरी बस्न नपर्ने उनको भनाइ छ।

यता, छुट्टै होटलमा बसेका जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले कांग्रेस र माओवादी सँगै बसे पनि आफूहरू छुट्टै बसेको बताए।

‘प्राविधिक कारणले हामी उहाँहरूसँगै बस्न सकेनौं’, आचार्यले सेतोपाटीलाई भने, ‘संसदमा अरू गतिविधि रोक्न र राजनीतिक वैचारिक छलफल गर्न नजिकै बसेका छौं।’

गण्डकी प्रदेश सभामा टेबुल भएको अविश्वास प्रस्तावमा यी तीन दलका २८ जना सांसदले हस्ताक्षर गरेका छन्।

प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top