विराटनगर,असार ८
वर्षा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड निकै जोखिमपूर्ण बन्दै गइरहेको छ ।हिउँदमा समेत सुख्खा पहिरो खसेर अवरुद्ध हुँदै आएको यो सडकखण्डमा सर्वसाधारण जनताले अझै पनि सहज यात्राको महसुस गर्न पाएका छैनन् ।
सडकखण्डमा स्तरोन्नतिको कामसँगै बाटो फराकिलो भए पनि पहिराको जोखिमले यात्रुहरुमा त्रास फैलिएको छ । सडक आयोजनाले पनि पहिरोको जोखिम हुने स्थानमा पहिरो रोक्ने काम गरिरहेको छ ।
यो सडकखण्डको ११ वटा स्थानहरुमा आधुनिक प्रविधिमार्फत रक नेटिङ र रक बोल्टिङको काम भइरहेको आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए। गत बैशाख १३ गतेबाट सुरु भएको रक नेटिङ र रक बोल्टिङको काम अहिलेसम्ममा ७० प्रतिशत सम्पन्न भइसकेको उनले बताए ।
तर, कतिपय स्थानमा भने यो प्रविधिले पनि काम गर्न नसक्ने संकेत देखिएको उनको भनाइ छ । यो सडकखण्डको चारकिलोमा बढी जोखिम भएकोले अहिले अपनाएको नयाँ प्रविधिले पनि काम नहुन सक्ने उनले बताए ।
भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म ३६ किलोमिटर लामो यो सडकखण्डको ३३ दशमलव २ प्रतिशत सडक एशियाली मापदण्ड अनुसार निर्माण गरिएको छ ।