विराटनगर,असार ८
वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा अनुगमन गर्न थालिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्रको गोही प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्कासहितको टोलीले तीन दिनयता राप्ती नदी र नारायणी नदीमा अनुगमन गरिरहेको छ ।
खड्काका अनुसार धमिलो पानीमा गोहीको आनीबानी कस्तो रहन्छ र उसको आहारको अवस्था के छ भन्नेबारेमा प्रत्यक्षरुपमा अनुगमन गरिएको छ । राप्ती नगरपालिकाको पिप्लेबाट राप्ती नदीमा खड्काको टोलीले ¥याफ्टिङ बोटमा बसेर अनुगमन गरेको हो ।
सोही क्रममा यसअघि गोहीको अण्डा संकलनका क्रममा छाडिएका गुँडहरुमा अण्डाबाट गोहीका बच्चा कोरलिए नकोरलिएको पनि हेरिएको उनले बताए। नारायणीमा छोडिएकामध्ये एउटा गुँडमुनिबाट पानी बगेपछि अण्डा बिग्रिएको र दुई वटामा ५० वटा जति बच्चा कोरलिएको उनले बताए । अन्य दुई गुँड भने हराएको उनले जानकारी दिए ।
अण्डा प्रजनन् केन्द्रबाट २ सय बच्चा कोरलिएको उनले बताए । हालसम्म नारायणी र राप्ती नदीमा एक हजार ३६५ वटा घडियाल गोही छोडिसकिएको छ ।
रासस