विराटनगर, असार ८
विराटनगर भन्सार राजश्व संकलनमा आफनो लक्ष्यमा पुग्ने देखिएको छ । जेठ मसान्तसम्ममा कुल २९ अर्ब १ करोड ५४ लाख रुपैयाँ सकंलन गरेर विराटनगर भन्सार लक्ष्य नजिक पुगेको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांशु अधिकारीले जानकारी दिए ।
चालु आर्थिक वर्षमा भन्सार कार्यालयले ३१ अर्ब २४ करोड ४८ लाख राजस्व सकंलन गर्ने लक्ष्य राखेको छ । अहिलेको तथ्याङले कार्यालयले राजस्वको लक्ष्य हासिल गर्न अब मात्र २ अर्ब २३ करोड रुपैयाँ असुल गर्न बाँकी रहन्छ । कार्यालयले गएको जेठ महिनामा मात्र ३ अर्ब ६७ करोड र वैशाखमा ३ अर्ब असुल गरेको थियो । त्यस्तै चैत र फागुनमा क्रमशः ३ अर्ब र २ अर्ब ८२ करोड सकंलन गरेको थियो ।
कात्तिक महिनायता मासिक २ अर्ब २३ करोडभन्दा बढी राजस्व उठाइरहेको कार्यालयले साउन, भदौ र असोजमा भने बाढीका कारण जोगवनी स्थित मीरगञ्जको पुल भत्किएर भान्टाबारीबाट रिरुट गर्नुपरेकाले राजस्वको लक्ष्य पुग्न सकेको थिएन ।
असारमा अन्य महिनामा भन्दा बढी काम हुने भएकाले असुली पनि उल्लेखनीय हुने हुँदा २ अर्ब २३ करोड सजिलै पुग्ने र असार महिनामा लक्ष्य अनुसार राजस्व असुली भए यस वर्ष लक्ष्य भन्दा पनि केही बढी राजस्व उठाउन सकिने भन्सार कार्यालयको अनुमान छ ।
जेठ मसान्तसम्ममा कार्यालयले भन्सार महसुलको १२ अर्ब १० करोडको लक्ष्यमा १२ अर्ब २० करोड, मूअकरको ११ अर्ब ९० करोडको लक्ष्यमा १५ अर्ब ५४ करोड र अन्तःशुल्कको ४ अर्ब ११ करोडको लक्ष्यमा १ अर्ब २७ करोड असुल गरेको तथ्याङ्क उपलब्ध गराएको छ ।
यसैबीच जेठ मसान्तसम्म विराटनगर भन्सारमा सबैभन्दा बढी राजस्व प्रदान गर्ने पदार्थ हाइस्पिड डिजल भएको छ । जसबाट २ अर्ब ७ करोड राजस्व संकलन भएको छ ।