विराटनगर,असार १०
२०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शनिबार सार्वजनिक भएको छ ।परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार परीक्षामा ४ लाख ५१ हजार ५ सय ३२ सहभागी भएकोमा १४ हजार २ सय ३४ जनाले ‘ए प्लस’ ग्रेड अर्थात ३ दशमलव ६५ भन्दामाथि ४ सम्म जीपीए ल्याएका छन् ।
यस्तै ग्रेड ‘ए’ अर्थात जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याउने ४६ हजार १ सय ३० जना छन् भने ‘बी प्लस’ ग्रेड अर्थात जीपीए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याउने विद्यार्थीको संख्या ३९ हजार ३७ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसैगरी ‘बी’ ग्रेड अर्थात २ दशमलव २५ देखि २ दशमलव ८० सम्म जीपीए ल्याउने ७० हजार ५ सय १२ जना र ‘सी प्लस’ ग्रेड अर्थात २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म जीपीए ल्याउने ६१ हजार ८ सय ७० जना रहेको कार्यालयले जनाएको छ ।
सी ग्रेड अर्थात जीपीए १ दशमलव ६५ देखि २ सम्म ल्याउने १ लाख १ हजार ४३ जना र डी प्लस ग्रेड अर्थात जीपीए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याउने ३५ हजार ५ सय ८४ जना छन् ।
कार्यालयका अनुसार ५८ हजार ६ सय ८८ जनाले डी ग्रेड अर्थात ० दशमलव ८५ देखि १ दशमलव २० सम्म जीपीए ल्याएका छन् ।
एक्जाम्टेडतर्फ २५ हजार १ सय ३८ जना सहभागि भएकोमा २ जनाले ए ग्रेड, १९ जनाले बी प्लस ग्रेड, १ सय ७७ जनाले बी ग्रेड ल्याएका छन् ।
यस्तै ७ सय २ जनाले सी प्लस, ५ हजार ८ सय ९५ जनाले सी ग्रेड, ६ हजार ५ सय २७ जनाले डी प्लस र ३ हजार १ सय ८ जनाले डी ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको हो ।